🌱 Soil4Kids
main

के हामी सौन्दर्यलाई संरक्षण गरेर पशुलाई बचाउन सक्छौं?

📅 2026-02-16 नेपाली

के हामी सौन्दर्यलाई संरक्षण गरेर पशुलाई बचाउन सक्छौं?

Felix Gottschall 1,2, Erin K. Cameron 3, Inês S. Martins 4, Julia Siebert 1,2 and Nico Eisenhauer 1,2*

1 Experimental Interaction Ecology, German Centre for Integrative Biodiversity Research (iDiv) Halle-Jena-Leipzig, Leipzig, Germany2 Institute of Biology, Leipzig University, Leipzig, Germany3 Department of Environmental Science, Saint Mary’s University, Halifax, Canada4 Department of Biology, Leverhulme Centre for Anthropocene Biodiversity, University of York, York, United Kingdom

प्रजाति विविधता मानव स्वास्थ्य र हाम्रो अर्थतन्त्रको लागि अत्यावश्यक भएको हुनाले विश्वव्यापी रूपमा संरक्षण क्षेत्रहरू स्थापना गरिएका छन्। यी संरक्षणका प्रयासहरू प्रायः पाण्डा वा बाघहरू जस्ता ‘सुन्दर जन्तुहरू’ मा केन्द्रित भएका छन्। अन्य धेरै प्रजातिहरू त्यति आकर्षक छैनन् र त्यसैले केवल ’ पशुहरू ’ मानिन्छन्। धेरै ‘पशुहरू’ माटोमा अदृश्य जीवन बिताउँछन् तर मानवजातिको लागि धेरै महत्त्वपूर्ण छन्। हामीले प्रश्न सोध्यौं, ‘सौंदर्य’ मा आधारित वर्तमान संरक्षण प्रयासले ‘पशु’ लाई स्वतः जोगाउन मद्दत गर्छ कि गर्न सक्दैन। अर्को शब्दमा भन्दा,, के हामीले जमिनमाथि उच्च जैविक विविधता भएका स्थानहरूमा माटोमुनि उच्च जैविक विविधता पाउँछौं? हामीले विश्वव्यापी रूपमा जमिन माथि र जमिनमुनिको जैविक विविधता मापन गर्यौं र त्यहाँ धेरै क्षेत्रहरू पत्ता लगायौँ जहाँ माथिको जैविक विविधता उच्च थियो र जमिनमुनि जैविक विविधता कम थियो वा त्यसको उल्टो। हाम्रो नतिजाहरूले के इङ्गित गर्छन् भने ‘सुन्दरताहरू’ को संरक्षण गरेर मात्र ‘पशुहरू’ को पनि रक्षा गर्न पर्याप्त नहुनसक्छ। हामीले नयाँ संरक्षण क्षेत्रहरू योजना गर्दा जमिनमुनिका जीवहरुको पनि विचार गर्न आवश्यक देखिन्छ।

प्रकृतिले के दिन्छ र हामीलाई यो किन चाहिन्छ

वनमा पदयात्रा गर्न वा सार्वजनिक उद्यानमा पैदल यात्रा गर्न जाँदा त्यहाँ विभिन्न जनावर र बोटबिरुवाहरू पत्ता लाग्छन्। गाउने चराहरू, गुञ्जन गर्ने मौरीहरू र सुन्दर फूलहरू आफैंमा सुन्दर छन् र हामी कहिलेकाहिँ तिनको आनन्द लिन्छौँ। यसबाहेक, तिनीहरूले हाम्रो इकोसिस्टममा महत्त्वपूर्ण सेवाहरूलाई प्रदान गर्छन् र मानवसेवा गर्दछन् (जसलाई इकोसिस्टम सेवाहरू भनिन्छ)। उदाहरणका लागि, चराहरूले एफिड्सजस्ता कीटहरूलाई नियन्त्रण गर्न सक्छन्, र बिरुवाहरूले हामीलाई आवश्यक अक्सिजन प्रदान गर्नुको साथै खाना पनि उत्पादन गर्दछ, मौरीको सहायताले परागकण फैलिन्छ । यी कार्यहरू र इकोसिस्टम सेवाहरूको मात्रा र सीमा विभिन्न बिरुवा र जनावर प्रजातिको विविधतामा सशक्तरूपमा निर्भर हुन्छ। यो विविधतालाई जैविक विविधता भनिन्छ [१]।

मानव गतिविधिबाट संसारभरका धेरै बोटबिरुवा र जनावरका प्रजातिहरू खतरामा छन्। बढ्दो कृषि, वन फँडानी र अत्याधिक जीवाश्म इन्धनको प्रयोगका कारण हुने जलवायु परिवर्तनले धेरै प्रजातिहरू लोपोन्मुख भएका छन् [२]। यी प्रजातिहरुको क्षति चिन्ताजनक हनुको कारण यिनको प्रकृतिमा भित्री महत्त्व मात्र नभएर हामी प्रकृतिको सेवाहरूमा निर्भर भएको कारणले पनि हो। प्रजातिको निरन्तर भइरहेको क्षतिले हामीले प्रकृतिको सौन्दर्यका अंशहरू मात्र नभएर पृथ्वीमा मानव जीवनको लागि अत्यावश्यक प्रकृतिका कार्यहरू पनि गुमाउने छौँ [३]।

प्रकृतिको सौन्दर्य र सेवाहरूको संरक्षण

विश्वका केही क्षेत्रहरूलाई सक्रिय रूपमा संरक्षण गरेर [४], हामीले लोपहुन लागेका प्रजातिहरूलार्इ सहयोग गर्नेछौँ, हामी र हाम्रा भावी पुस्ताहरूका लागि तिनीहरू र तिनका सेवाहरूको संरक्षण गरेर । कुन क्षेत्रहरूको संरक्षण गर्ने भनेर निर्णय गर्दा, हामीले प्राय: पाण्डा, बाघहरू अथवा सुनौलो चील जस्ता विशेष आकर्षक र उल्लेखनीय रूपमा ‘सुन्दर जनावरहरू’ भएका क्षेत्रहरू छनौट गर्दछौँ। यी प्रजातिहरू अन्य प्रजातिहरूको उच्च विविधता भएको ठाउँमा बस्छन् र यिनीहरुको लागि प्रायः ठूलो, उच्च-गुणस्तर भएको बस्ने क्षेत्र चाहिन्छ। यी ‘सुन्दर जनावरहरूलाई जोगाउँदा अन्य, साना जनावर र बिरुवाहरूको पनि आफैँ मा संरक्षाण र हेरचाह हुन्छ भन्ने अनुमान गरिन्छ । मानिसहरु ‘सुन्दर जनावरहरू’ मा पैसा लगानी गर्न इच्छुक हुन्छन् किनभने सबैले तिनीहरूलाई चिन्छन् र माया गर्छन्। जङ्गलमा पाण्डा घुमिरहेको हेर्न कसलाई मन पर्दैन र?

हामी मुनिका पशुहरू र किन तिनीहरू धेरै जसो बेवास्तामा पर्दछन्

तथापि जसले अलिअलि बगैँचामा गोडमेल गर्ने कार्य गरेको छ अथवा आफ्नो खुट्टा मुनिको माटो खोश्रेर हेरेको छ उहाँहरूलाई थाहा हुन्छ प्रकृतिले पहिलो नजरमा देख्न सक्नेभन्दा धेरै प्रजातिहरूलाई आश्रय प्रदान गर्दछ। हाम्रो खुट्टा मूनि र पाण्डाको खुट्टामूनि गँड्यौला, कमिलाहरु, माकुराहरु, स्प्रिङटेलहरु, अरिमुठेहरु, र बीटलहरुका लुप्त समुदायहारु बस्दछन्। यदि हामीले अझ नजिकबाट हेर्ने हो भने (जस्तै माइक्रोस्कोपले) माटोमा स-साना ब्याक्टेरिया र ढुसी पनि हुन्छन्। चराहरू, फूलहरू र माहुरीहरू जस्तै, यी सबै भूमिगत प्रजातिहरूले पनि महत्त्वपूर्ण कार्यहरू र सेवाहरू पूर्ण गर्दछन् । उदाहरणका लागि, ढुसी र स्प्रिङटेलहरूले काठ र पातहरू पचाउँछन् र माटो र बिरुवाहरुलाई पोषक तत्व प्रदान गर्दछ। गँड्यौलाहरूले माटोलाई खुकुलो पार्छन् र हावा भित्र माटोमा पस्न सजिलो पार्छन्, जसले माटोलाई थप उत्पादक बनाउँछ। अरीमुठेहरु र माकुराहरूले कीराहरू नियन्त्रण गर्छन् र यसरी कीट प्रजातिहरूलाई माटो कब्जा गर्नबाट रोक्छन्।

यद्यपि भूमिगत प्रजातिहरूले मुख्य भूमिकाहरू पूरा गर्छन् र महत्त्वपूर्ण सेवाहरू प्रदान गर्छन्, तिनीहरू प्रायः बेवास्तामा पर्छन् । वैज्ञानिकहरूले हालै मात्र माटोमा कति प्रजातिहरू छन् र कसरी यी प्रजातिहरूले भूमिगत प्रक्रियाहरूलाई आकार दिन विभिन्न तरिकामा सँगै मिलेर काम गर्छन् भनेर बुझ्न शुरू मात्र गरेका छन्। यस ज्ञानको कमीको कारणहरू थुप्रै छन्। माटोमा पहुँच पुर्याउन (वा त्यसभित्र हेर्न) सजिलो छैन, जसले गर्दा प्रयोग, अनुगमन, र अवलोकनको अध्ययन योजना बनाउन र सञ्चालन गर्न कठिन बनाउँछ। यसबाहेक, भूमिगत प्रणालीहरूमा रहेका धेरै महत्त्वपूर्ण खेलाडीहरू सुक्ष्म हुन्छन् र तिनीहरूआफ्नो काम गोप्य रूपमा गर्छन्। केही मानिसहरू माटोका जीवहरूलाई ‘पशु जस्तो दुष्ट’ पनि मान्छन् । कीराहरू, माकुराहरू, ब्याक्टेरिया र ढुसीलाई विरलै ‘सुन्दर’ मानिन्छ यद्यपि तिनीहरूको विशेष रुप हुन्छ र जीबन शैलीको आफ्नै प्रकारको आकर्षण छ । नयाँ संरक्षित क्षेत्रहरूको स्थापनाको क्रममा, यी समस्याहरूले गर्दा भूमिगत प्रजातिहरूलाई ध्यान दिइदैन।

के हामीले ‘सौंदर्य’ जोगाएर ‘पशु’ बचाउन सक्छौं**? **

हाम्रो अनुसन्धानमा, हामीले के सोध्यौं भने जमिन माथिको पाण्डाहरू जस्ता “सुन्दर जनावरहरू” भएको आधारमा संरक्षित क्षेत्र छनोट गरेर के हामीले आफैँ जमिनमुनिका महत्त्वपूर्ण गँड्यौला जस्ता ‘पशुहरू’ संरक्षित गर्न सक्छौं। के हामीले ‘सौंदर्य’ जोगाएर ‘पशु’ बचाउन सक्छौं?

यो प्रश्न धेरै महत्त्वपूर्ण छ किनकी यसले हामीलाई के बुझ्न मद्दत गर्दछ भने वर्तमान संरक्षित क्षेत्रहरू छनोट गर्ने तरिका पर्याप्त छ अथवा ती इकोसिस्टम सेवाहरूलार्इ समावेश गरेर समायोजन गर्न आवश्यक छ जुन अहिलेसम्म बेवास्ता गरिएको हुन सक्छ तर मानव कल्याणको लागि आवश्यक छ।

हामीले यो प्रश्नलाई कसरी अघि बढायौं र हामीले के पत्ता लगार्यौं**?**

जमिन माथिको प्रजातिको संरक्षणले जमिन मुनिको प्रजातिलाई स्वतः सुरक्षित गर्छ कि गर्दैन भनेर निर्धारण गर्न हामीले जमिनमाथिका प्रजातिहरू (स्तनधारीहरू, चराहरू, उभयचरहरू, र बोटबिरुवाहरू) र जमिनमुनिका प्रजातिहरू (ब्याक्टेरिया, ढुसी र माटोको जनावरहरु) को उपस्थिति र विविधताको बारेमा तथ्याङ्कहरूको ठूलो अभिलेखहरू जम्मा गर्यौं। धेरै जसो तथ्याङ्कहरू पहिले नै सहकर्मी ज्ञानिकहरूद्वारा सङ्कलन र प्रकाशित गरिएको थियो र केही जानकारी सार्वजनिक अभिलेखबाट निकालिएको थियो [५]। त्यसपछि हामीले कम्प्युटरको विशेष प्रविधिहरू (ArcGIS: नक्साहरू सिर्जना गर्न र भौगोलिक जानकारीको विश्लेषण गर्न प्रयोग गरिने एउटा सफ्टवेयर) प्रयोग गरेर विश्वभरिको तथ्याङ्कहरूको ढाँचाहरू देखाउने नक्साहरूको सिर्जना गर्यौं। यी नक्साहरूको विश्लेषण र तुलना गरेर हामीले हाम्रो प्रश्नको जवाफ दिन सक्षम भयौं।

जवाफ के हो त? हाम्रो नक्सा (चित्र १) को मद्दतले हामीले देख्यौं भने त्यस्ता धेरै क्षेत्रहरू छन् जहाँ जमिनमाथिको जैविक विविधता र जमिनमुनिको जैविक विविधता दुवै उच्च छन् (“मिलेको”), जस्तै विश्वका धेरै उष्णप्रदेशीय क्षेत्रहरूमा (चित्र १ - हरियो क्षेत्रहरू)। तथापि, हामीले त्यस्ता धेरै क्षेत्रहरू पनि देख्यौं जहाँ जमिनमाथिको जैविक विविधता उच्च छ र जमिनमुनि जैविक विविधता कम छ (चित्र १ सुन्तला क्षेत्रहरू), वा त्यसको उल्टो (चित्र १ – फिक्का नीलो क्षेत्रहरू) (“मेल नखाएका”)। जमिनमुनि जैविक विविधता उच्च तर माथिको जैविक विविधताको निम्न रहेको क्षेत्रको एउटा उदहारण पृथ्वीको उत्तरी क्षेत्र हो जस्तै उत्तरी गोलार्धमा रहेका विशाल टुन्ड्रा र बोरियल क्षेत्रहरू। मेल नखाएका समग्र क्षेत्र जहाँ ‘दुष्ट पशुहरू’ (भूमिगत विविधता) लाई केवल ‘सौंदर्यहरू’ (जमिनमाथिको विविधता) लाई संरक्षण गरेर संरक्षण गर्न सम्भव छैन, त्यस्ता क्षेत्रले पृथ्वीको जमिन सतहको करिब एक तिहाइ क्षेत्रपफलसम्म फैलिएको छ।

भविष्यको बारेमा के त?

हाम्रो नतिजाहरूलाई ध्यानमा राख्दै, हामी के सुझाव दिन्छौं भने हामीले कुनै क्षेत्रहरूलाई संरक्षित क्षेत्रको रूपमा घोषणा गर्दा विशेषज्ञहरूले निर्णय गरेको तरिकालाई अनुशरण गर्न आवश्यक छ (चित्र २)। पाण्डा वा बाघजस्ता ‘सुन्दर जन्तु ’ हरूको बासस्थान जोगाउन धेरै महत्त्वपूर्ण भए तापनि हामीले माटोमा रहेका ‘पशुहरू’ लाई बेवास्ता गर्नबाट साबधान हुनुपर्छ किनकी तिनीहरु हाम्रो हितका लागि ज्यादै महत्त्वपूर्ण छन्। यदि हामीले ‘सुन्दरता’ भएको क्षेत्रहरूमा मात्र ध्यान केन्द्रित गर्यौं भने, हामीले धेरै माटोका प्रजातिहरू र तिनीहरूका सेवाहरू (उदाहरण: माटोमा कार्बन भण्डारण, पानी शुद्धिकरण र पोषक तत्व चक्र) गुमाउने जोखिम हुन्छ , किनभने यी माटोका प्रजातिहरू विश्वका ती क्षेत्रहरूमा धेरै विविध हुन सक्छन् जहाँ “सुन्दरताहरू” कम विविध छन्।

यस अध्ययनको नतिजा प्रकृति संरक्षणको लागि नयाँ दृष्टिकोणको सुरुवात मात्र हो। माटो सजिलैसँग पहुँचयोग्य नभएकाले हामीलाई अझै पनि भूमिगत प्रक्रियाहरू र माटो जीवहरूको लागि खतराहरूका साथै यी जीवहरूको भूमिका, आवश्यकता र व्यवहारहरूमा थप जानकारीको आवश्यकता छ। यसले संरक्षण क्षेत्रहरूका लागि सिफारिसहरू गर्न र संरक्षण क्षेत्रहरू बाहिर साझा औद्योगिक र कृषि अभ्यासहरूको सामान्य समायोजन गर्न मद्दत गर्नेछ। त्यसैले, अर्को महत्त्वपूर्ण पाइला भनेको सर्वेक्षणहरू तथा अनुगमन कार्यक्रमहरू सञ्चालन गरेर विश्वव्यापी माटो प्रजातिहरूको बारेमा समग्र ज्ञान बढाउनु हो । मूलतः, यसको मतलब के हो भनेहामीले “थप गहिराइमा जानुपर्छ ”! वैज्ञानिकहरूलाई यो महत्त्वपूर्ण काम गर्न सक्षम बनाउनका लागि हाम्रा खुट्टा मुनि रहेका जिज्ञासु जनावरहरूको महत्त्वबारे आम जनता र सरकार दुवैमा चेतना जगाउनु आवश्यक छ।

शब्दावली

इकोसिस्टम सेवाहरू

इकोसिस्टमका कार्यहरू र प्रक्रियाहरू जसले कुनै न कुनै रूपमा मानिसहरूलाई फाइदा पुर्याउँछ। उदाहरणका लागि, फलफूल, काठ र अक्सिजनको उत्पादन, वा पानी शुद्धीकरण।

जैविक विविधता

जैविक विविधताले जीवनको विविधता र परिवर्तनशीलतालाई वर्णन गर्दछ। परिवेश अनुसार यसले विभिन्न उपायहरू उल्लेख गर्न सक्छ। एउटै स्थानमा विभिन्न प्रजातीको संख्या र विभिन्नता हुनु सामान्यतया पाइने जैविक विविधता हो ।क्षेत्रमा विभिन्न प्रजातिहरू हो।

इकोसिस्टम सेवाहरू

इकोसिस्टमका कार्यहरू र प्रक्रियाहरू जसले कुनै न कुनै रूपमा मानिसहरूलाई फाइदा पुर्याउँछ। उदाहरणका लागि, फलफूल, काठ र अक्सिजनको उत्पादन, वा पानी शुद्धीकरण।

जैविक विविधता

जैविक विविधताले जीवनको विविधता र परिवर्तनशीलतालाई वर्णन गर्दछ। परिवेश अनुसार यसले विभिन्न उपायहरू उल्लेख गर्न सक्छ। एउटै स्थानमा विभिन्न प्रजातीको संख्या र विभिन्नता हुनु सामान्यतया पाइने जैविक विविधता हो ।क्षेत्रमा विभिन्न प्रजातिहरू हो।

विलुप्त

एक प्रजातिको स्थायी लोप। लोप प्राकृतिक घटना (डाइनोसर) वा मानव कार्य (डोडोस) को कारणले हुन सक्छ।

आन्तरिक मूल्य (महत्त्व)

भित्रबाट आउने गरेको कदर। यो के को लागि मूल्यवान छ भन्ने होइन कि, यो जे हो त्यही रूपमा यसको महत्त्व दिइएको ।

सार्वजनिक अभिलेख

तथ्याङ्कहरूको संगठित संग्रह जसमा संसारभरिका वैज्ञानिक वा सामान्य मानिसको पहुँच हुन सक्छ।

सन्दर्भहरू

  • Merritt M, Maldaner ME, de Almeida AMR. What Are Biodiversity Hotspots? Front Young Minds (2019) 7:29. doi:10.3389/frym.2019.00029
  • IPBES, “Summary for policymakers of the global assessment report on biodiversity and ecosystem services of the Intergovernmental Science-Policy Platform on Biodiversity and Ecosystem Services”, (IPBES Secretariat, Bonn, Germany, 2019).
  • Cardinale BJ, Duffy JE, Gonzalez A, Hooper DU, Perrings C, Venail P, Narwani A, Mace GM, Tilman D, Wardle DA, et al. Biodiversity loss and its impact on humanity. Nature (2012) 486:59–67. doi:10.1038/nature11148
  • UNEP-WCMC, IUCN (2020). Protected Planet: The World Database on Protected Areas (WDPA). Available at: www.protectedplanet.net [Accessed April 8, 2020]
  • Cameron EK, Martins IS, Lavelle P, Mathieu J, Tedersoo L, Bahram M, Gottschall F, Guerra CA, Hines J, Patoine G, et al. Global mismatches in aboveground and belowground biodiversity. Conservation Biology (2019) 33:1187–1192. doi:10.1111/cobi.13311

TRANSLATION

SARITA PUDASAINI

PREM RAJ DHUNGEL

UJJWAL DHAKAL

FUNDING (TRANSLATION)

The team Translating Soil Biodiversity acknowledges support of the German Centre for integrative Biodiversity Research (iDiv) Halle-Jena-Leipzig funded by the German Research Foundation (DFG FZT 118, 202548816).


चित्र २: कुन क्षेत्रहरूलाई सुरक्षित गर्ने भनेर हामी कसरी निर्णय गर्छौं? बायाँ: एउटा वैज्ञानिकले ? चित्र २: कुन क्षेत्रहरूलाई सुरक्षित गर्ने भनेर हामी कसरी निर्णय गर्छौं? बायाँ: एउटा वैज्ञानिकले जमिन माथिको संरक्षण गर्न लायक छ कि भनेर जाँच गर्दछ। यो निर्णय जमिनमाथिको प्रजातिको विविधता र ‘सुन्दरता’को उपस्थतिमा आधारित छ। एउटा सकारात्मक नतिजाले त्यो क्षेत्र र इकोसिस्टमको संरक्षणमा टेवा पुर्‍याउँदछ। बिचमा: एक वैज्ञानिक जाँच गर्दछ र जमिनमाथि कम विविधता फेला पार्छ र भूमिगत विविधता बारे उसलार्इ केहि थाहा छैन। यो क्षेत्र संरक्षण हुँदैन। माटोका जीवहरू बेवास्तामा पर्छन् र उद्योग र कृषिद्वारा र खतरामा पर्छन्। माटोको जीवहरूको महत्त्वपूर्ण कार्य र सेवाहरू हराएका छन्। दायाँ: जमीन माथिको जाँचको अतिरिक्त, वैज्ञानिकहरूले माटोका जीवहरूको बारेमा पनि सोचेका छन्। माटोको विविधताको सकारात्मक नतिजाको आधारमा क्षेत्रको संरक्षण गरिनेछ। इकोसिस्टम र माटोको भूमिका र सेवाहरू संरक्षित हुन्छन्।

चित्र १: जमिन माथिको (स्तनपायी, चरा, उभयचर र बोटबिरुवा) र जमिनमुनि (ढुसी, ब्याक्टेरिया, र कीराहरू) को चित्र १: जमिन माथिको (स्तनपायी, चरा, उभयचर र बोटबिरुवा) र जमिनमुनि (ढुसी, ब्याक्टेरिया, र कीराहरू) को जैविकविविधता, वितरण र खप्टिएको क्षेत्र देखाउने विश्वव्यापी नक्शा। रंगहरूले जमिनमाथि र जमिन मुनिको जैवविविधताको विभिन्न संयोजनहरूलाई संकेत गर्दछ। सुन्तला रंग: जमिनमाथिको उच्च जैविक विविधता र जमिन मुनि कम जैविक विविधता; फिक्का खैरो रंग: माथि कम जैविक विविधता र जमिनमुनि कम जैविक विविधता; हरियो: जमिन माथिको उच्च जैविक विविधता र उच्च भूमिगत जैविक विविधता; फिक्का नीलो: माथि कम जैविक विविधता र जमिनमुनि उच्च जैविक विविधता; र खरानी: कुनै तथ्याङ्क उपलब्ध छैन। यो नक्साबाट, तपाईले के देख्न सक्नुहुन्छ भने त्यहाँ मेल नखाएका (सुन्तला रंग) को ठूला क्षेत्रहरू छन् जहाँ ‘सौंदर्य’ लाई जोगाएर ‘दुष्ट पशु’ लाई बचाउन सम्भव छैन ।

Frontiers for Young Minds

Originally published on Frontiers for Young Minds