🌱 Soil4Kids
main

माटो जिवित हुन्छ: भूमिको प्रयोगबाट जीवित माटोमा पुग्ने असर

📅 2026-02-16 नेपाली

माटो जिवित हुन्छ: भूमिको प्रयोगबाट जीवित माटोमा पुग्ने असर

Jes Hines 1,2, Franciska de Vries3*

1 German Centre for Integrative Biodiversity Research (iDiv) Jena-Halle-Leipzig, Leipzig, Germany2 *Institute of Biology, Leipzig Universität, Leipzig, Germany 3 *

Institute for Biodiversity and Ecosystem Dynamics, University of Amsterdam, Amsterdam, Netherlands

मानिसहरूले बालीनाली उब्जाउनका लागि भूमिको प्रयोग गर्दछन् र हामीले अपनाउने खेतीपातीका तरिकाहरूले माटोमा बस्ने जीवहरुलार्इ प्रभाव पार्न सक्दछन्।माटोमा बस्ने जीवहरुले प्राङ्गारिक पदार्थको विघटन तथा बोटविरुवालार्इ आवश्यक पर्ने पोषणतत्वहरुको उपलब्ध गराउने जस्ता महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन्।हामीले बढ्दो मात्रामा रासायनिक विषादी तथा मलखादको प्रयोग गर्दा थोरै स्थानबाट पनि बढी उत्पादन लिन सक्छौँ।तर यी रसायनहरुको प्रयोगले माटोमा बस्ने जीवहरू र तिनीहरूले गर्ने कार्यमा समेत हानि पुर्याउन सक्दछन्।यि विधि भन्दा फरक र माटोमा बस्ने जिवाणुहरुका लागि समेत उपयोगी हुने खेतीका प्रणालीहरु हामीले अवलम्वन गर्न सकिन्छ जसको लागि बढी भूमि क्षेत्रको आवश्यकता पर्दछ।विश्वभरीका मानिसहरूलाई स्वस्थ जीवनयापनका लागि खानाको आवश्यकता पर्दछ।भूमि हामी सबैको साझा श्रोत भएकाले यसको प्रयोग सम्बन्धी निर्णय गर्दा कृषि कर्मले माटोका जीवाणुहरुलार्इ पुर्याउने प्रभावको बारेमा समेत जानकार हुन जरुरी छ।

विश्वका ७८ अर्ब मानिस माटोमा उब्जिने खानामा निर्भर छन्

विश्वमा करीब ७८ अर्ब मानिसहरु बसोबास गर्दछन् र सबैको लागि स्वस्थ खानाको आवश्यकता पर्दछ। तरकारी र अन्य खाद्यान्नबालीहरू स्वस्थ आहारको हिस्सा हुन्।तर यति धेरै मानिसहरूको लागि आवश्यक खाना उत्पादन गर्दा वातावरणमा पनि लागत पर्न जान्छ।यसका लागि पहिलो कुरा हामीलाई पर्याप्त खेतीयोग्य भूमिको आवश्यकता पर्दछ र दोश्रो भनेको वातावरणलाई स्वस्थ राख्न सहयोग गर्ने खेतीका अभ्यासहरू महत्वपूर्ण छन्।हामीले अवलम्बन गरेका खेतीपातीका अभ्यासहरू ठीक छन् वा छैनन् भन्ने कुरा माटोमा बस्ने जीवाणुहरूले हामीलाई जानकारी गराउँछन्।

माटोमा ब्याक्टेरिया, ढुसी, नेमाटोड्स र आइसोपोड्स जस्ता अरबौँ जीवहरू बसोबास गर्दछन् (चित्र १)। तिनीहरूले पनि हामीले जस्तै खाना खान्छन्, बढ्छन्, अक्सिजन प्रयोग गर्दछन् र कार्बन डाइअक्साइड उत्सर्जन गर्दछन्।यसरी माटोमा बस्ने जीवहरूको जीवन प्रक्रिया चलिरहँदा तिनीहरूले आफ्नो खानाबाट पोषक तत्वहरू छोड्दछन् जुन बोटबिरुवाहरूको वृद्धि-विकासका लागि फाइदाजनक हुन्छ (चित्र १)।यसका साथै ति जीवाणुहरुले प्राङ्गारिक पदार्थ (मृत बोटविरुवा तथा जीवहरु) लाई माटोसँग मिश्रण गरिदिन्छन्।यसले माटोको संरचना सुधार्नुका साथै बोटबिरुवाहरूको लागि पानीको उपलब्धता गराउँछ।माटोका जीवहरूले बोटविरुवाहरुको वृद्धिविकासमा सहयोग पुर्याउने स्रोतहरू प्रदान गर्दछन् जसले मानिसहरूको लागि आवश्यक खानाको उपलब्धता बढाउन मद्दत पुग्छ। माटोका जीवाणुहरुले पानीलार्इ छानेर स्वच्छ बनाउने तथा पोषकतत्वहरूको पुनर्चक्रण जस्ता महत्त्वपूर्ण पर्यावरणीय सेवाहरू प्रदान गर्दछन् जुन मानिसको लागि जिवित र स्वस्थ रहन अपरिहार्य छ।

माटोका जीवहरूले तपाइको खुट्टा मुनि (जमिनमुनि) खाद्य जाल बनाउँछन्

माटोमा रहेका जीवहरूले एक्लै-एक्लै काम गर्दैनन्। यि जी वहरु एक-आपसमा जडित भएर संजालको रुपमा रहेका हुन्छन् जसलार्इ माटोको खाद्य जाल भनिन्छ।एक प्रजातिको प्रचुरता (abundance) मा हुने परिवर्तनले तिनीहरूको शिकारी र शिकारको प्रचुरतामा समेत असर पर्दछ, यस किसिमको अन्तरकृयात्मक सँजाललार्इ ऊर्जा च्यानल (energy channel) भनिन्छ (चित्र १)।माटोको खाद्य जालहरूमा तीन प्रमुख ऊर्जा च्यानलहरू छन् जसमा एउटा ब्याक्टेरिया, दोश्रो ढुसी र तेस्रो बोटविरुवाको जरा रहेका छन् ।ब्याक्टेरिया र ढुसीले प्राङ्गारिक पदार्थ, जस्तै मृत जरा र पात खान्छन् र पछि तिनीहरूलाई अन्य जीवहरूले खाने गर्दछन्।माटोमा प्रत्यक्ष रूपमा जीवित जराहरु खाने जीवहरु जस्तै जरा खाने नेमाटोड्स पनि पाइन्छन् जसलार्इ पुनः अन्य जीवहरूले खान्छन्। मानिसहरूले भूमिको प्रयोग गर्ने विभिन्न तरिका (जस्तै खनजोत गर्ने (टिलिङ्ग) वा मलखादको प्रयोग) हरुले यस्ता ऊर्जा च्यानलहरूलाई विघटन गर्न सक्दछ जसको फलस्वरुप माटोको खाद्य जालले पर्यावरणीय प्रणालीमा पुर्याउने योगदानमा समेत असर गर्दछ।मानिसहरूका यस्ता कृयाकलापले कति प्रजातिहरूलाई असर पुर्याएको छ र यस्तो असरले माटोका जीवहरूले सामान्य रूपमा संचालन गर्ने प्रक्रियामा कत्तिको प्रभाव पारेको छ त ?

भूमि प्रयोगले माटोको खाद्य जालमा पुर्याएको प्रभावको एक परीक्षण

वैज्ञानिकहरूले विभिन्न प्रकारका भूमि प्रयोगले गर्दा माटोको खाद्य जालको संरचनामा असर पुर्याउने परिकल्पना गरेका छन् (चित्र २) (de Vries et al., 2013)।उनीहरूका अनुसार अत्याधिक रुपमा भूमि प्रयोग वा खनजोत गर्नाले माटोमा रहने जीवाणुहरूको संख्यामा ह्रास आउनुका साथै माटोबाट प्रदान गरिने पर्यावरणीय सेवाहरुमा सीमितता ल्याउँछ (de Vries et al., 2013)।वैज्ञानिकहरूकै अनुसार जब कृषकहरुले घाँस मैदान तथा चरण क्षेत्र जस्ता भूमि प्रयोगका अभ्यासहरुमा व्यापकता ल्याउँछन् , यस्ता अभ्यासहरुले माटोका जीवाणुहरूको संख्यामा वृद्धि ल्याउँछ।यस किसिमबाट भूमिको प्रयोग गर्दा कम खनजोत तथा कम मलखादको प्रयोग गरिन्छ तर त्यति नै मात्रामा खाना उत्पादन गर्नका लागि थप भूमिको आवश्यक पर्दछ।उनीहरूको विचारमा माटोका जीवाणुहरू प्राकृतिक घाँसका मैदान तथा खेतीपाती नगरिएको स्थानमा सबैभन्दा राम्रोसँग बढ्ने गर्दछन् (de Vries et al., 2013)।

विविध किसिमका वातावरणीय अवस्थाहरू (तापक्रम, वर्षा, माटोको बनावट आदि) भएका क्षेत्रहरुको अध्ययन गर्ने उद्देश्यले वैज्ञानिकहरूको एक टोली स्विडन, चेकिया, संयुक्त अधिराज्य र ग्रीस गरी युरोपका चार देशहरूमा गएको थियो।छनौट गरिएका देशहरुमा तीन प्रकारबाट भूमि प्रयोग भएका क्षेत्रहरूः अति सघन खेती गरिएको, मध्यम सघन खेती गरिएको र प्राकृतिक घाँसका मैदानहरूमा अध्ययन गरिएको थियो (de Vries et al., 2013) (चित्र २) ।वैज्ञानिकहरुले प्रत्येक क्षेत्रमा माटोमा रहेका विभिन्न प्रकारका जीवाणुहरूको मापन गरे जसमा ढुसी, ब्याक्टेरिया, प्रोटोजोआ, निमाटोड, गड्यौला, एन्चिट्राइडी, माइट्स र कोलेम्बोलानहरू थिए।यी विभिन्न किसिमका माटोका जीवाणुहरूले प्रवाह गर्ने पर्यावरणीय सेवाहरू बीचको भिन्नता अध्ययनका लागि ती जीवाणुहरूले गर्ने केहि महत्त्वपूर्ण प्रक्रियाहरू पनि मापन गरिएको थियो।

सघन खेतीले माटोको जैविक विविधतामा कमी ल्याउँछ

माटोमा पाइने जीवाणुहरूको संख्या र प्रकारको प्रचुरतासँग भूमि प्रयोगको प्रकारको महत्त्वपूर्ण सम्बन्ध रहेको तथ्य वैज्ञानिकहरूले पत्ता लगाए।सघन किसिमबाट गरिने भूमिको प्रयोगले माटोको खाद्यजालको जैविक विविधतामा ह्रास ल्याएको पाइयो जहाँ जीवाणुका समूहहरूको संख्या कम तथा प्रत्येक समूहमा प्रजातिहरूको संख्या पनि कम पाइएको थियो (Tsiafouli et al. 2015)।यसका साथै अति सघन तथा मध्यम किसिमबाट खेती गरिएको क्षेत्रमा माटोका जीवाणुहरूको कुल वजन पनि कम पाइएको थियो।अर्को के पनि पाइयो भने बोटबिरुवाका जराद्वारा पोषण प्राप्त गर्ने माटोको जीवाणुहरूको संख्या सबैभन्दा बढी मात्रामा घटेको थियो भने ब्याक्टेरिया तथा ढुसी खाने जीवाणुहरुमा कम असर परेको थियो।यो सम्भवतः खनजोतको कारणले हुनसक्छ किनभने अति सघन तथा मध्यम किसिमबाट खेती गर्दा खनजोत गरिने हुनाले त्यसको प्रत्यक्ष असर बोटबिरुवाको जरामा पर्न जान्छ र अन्ततः जरा प्रणालीबाट ऊर्जा प्राप्त गर्ने जीवहरु प्रभावित हुन्छन्।तर खनजोतले माटोमा पुर्याएको प्रत्यक्ष असर र माटोको खाद्य जालमा भएको परिवर्तन कति थियो त ?

माटोका जीवाणुहरूमार्फत गरिने प्रक्रियाहरु

माथिको प्रश्नको विश्लेषणका लागि वैज्ञानिकहरूले माटोका जीवाणुहरूको समूह र तिनिहरूले गर्ने प्रक्रियाहरू बीचको सम्बन्ध अध्ययन गरे।यसका लागि वैज्ञानिकहरूले श्वासप्रश्वास र नाइट्रोजनको चक्र गरी दुई प्रमुख प्रक्रियाहरुमा ध्यान केन्द्रित गरे।जब हामी स-साना जीवाणुहरूको बारेमा कुरा गर्छौँ, श्वासप्रश्वास भन्नाले अक्सिजन प्रयोग गर्ने र कार्बन डाइअक्साइड उत्सर्जन गर्ने प्रक्रिया हो जसले जीवाणुहरूको विकास र अन्य कृयाकलापका लागि आवश्यक उर्जा उत्पादन गर्दछ।नाइट्रोजन सबै जीवाणु तथा बोटबिरुवा समेतका लागि आवश्यक तत्त्व हो।यसले वातावरणमार्फत विभिन्न चरणहरूमा चक्रण गर्दछ।प्रायः गरेर जीवाणुहरूको विघटनको समयमा खनिजीकरण प्रक्रियाद्धारा माटोमा नाइट्रोजन वितरण हुन्छ (चित्र ३)।माटोमा हुने नाइट्रोजन निक्षालन (जमिन मुनिबाट बगेर हुने चुहावट) मार्फत ह्रास भएर जान सक्छ। अर्थात पानीद्वारा वा डिनाइट्रिफिकेसनद्वारा माटोबाट बाहिर जाने गर्दछ, जसमा नाइट्रोजन चाहिँ नाइट्रस अक्साइड (NO2) ग्याँसमा परिणत हुन्छ र यो ग्याँस ब्याक्टेरियाले उत्पादन गरी माटोबाट वायुमण्डलमा जान्छ।

प्राकृतिक घाँसे मैदानहरूले माटोका जीवाणुहरुको श्वासप्रश्वास प्रकृयामा प्रवर्द्धन गर्दछन्

माटोमा रहने जीवाणुहरूको श्वासप्रश्वास प्रकृया प्राकृतिक घाँसे मैदानमा बढी भएको तथ्य वैज्ञानिकहरूले पत्ता लगाए जहाँ गड्यौलाहरुको संख्या पनि बढी पाइएको थियो। गड्यौलाहरुले निरन्तर माटो चलाइरहने भएकाले अन्य माटोका जीवाणुहरूको क्रियाकलापलाई समेत सक्रिय बनाउँछन्।मानिसलार्इ जस्तै माटोका जीवाणुहरूलार्इ पनि बढी सक्रिय भएको बेला बढी खानेकुरा तथा श्वासप्रश्वास प्रकृयाको आवश्यकता पर्छ।यसरी बढि खानेकुरा आवश्यक भएको बेलामा जहाँ प्राङ्गारिक पदार्थहरु सहजै उपलब्ध हुन्छन् त्यहाँ सक्रिय माटोका जीवाणुहरूको संख्या बढी हुन्छ।प्राकृतिक घाँसका मैदानहरूमा प्राङ्गारिक पदार्थको मात्रा बढी भएको कारण त्यहाँको माटोमा भएका जीवाणुहरुको श्वासप्रश्वास प्रकृया बढी भएको पाइएको थियो।

सघन रुपमा व्यवस्थित फार्महरूमा अधिक नाइट्रोजन चक्रण हुन्छ

वैज्ञानिकहरूले नाइट्रोजन चक्रको अध्ययन गर्दा यसको अत्याधिक खनिजकरण (mineralization) सबैभन्दा बढी ब्याक्टेरियाबाट प्राप्त हुने मध्यको ऊर्जा बलियो भएको खाद्य जालहरूमा (माटोको खाद्य जालको बारेमा शब्दकोषमा हेर्नुहोस्) हुने गरेको पाए।सघन रुपमा प्रयोग भएको जमिनमा प्रायः गरेर प्रशस्त मात्रामा ब्याक्टेरिया हुने गर्दछन् र तिनीहरु छिटो बढ्ने तथा छिटो मर्ने गर्दछन् जसले गर्दा तिनीहरूको तन्तुबाट नाइट्रोजन माटोमा उपलब्ध हुने गर्दछ।

वैज्ञानिकहरूले माटोमा खनिजित नाइट्रोजनको मात्राको नापजाँच गरेपछि नाइट्रोजनमा हुने बाँकी प्रकृयालार्इ भूमिको प्रयोगले कसरी असर गर्दछ भन्ने विषय अध्ययन गरे।अध्ययनका क्रममा कम सघन रुपमा प्रयोग गरिएको भूमिमा धेरै सङ्ख्यामा अर्बुस्कुलर माइकोराइजल ढुसी (arbuscular mycorrhizal fungi) पाइनुका साथ-साथै नाइट्रोजनको चुहावट पनि कम भएको पाइएको थियो।यसले के अर्थ राख्छ भने बोटबिरुवाहरुले बढी मात्रामा नाइट्रोजन प्रयोग गर्न सकिने किसिमको माटोको अवस्था छ भने त्यस्तो क्षेत्रमा नाइट्रोजन अडिरहन्छ।कृषकहरुको चाहना पनि नाइट्रोजन चुहावट कम होस् र धेरैजसो नाइट्रोजन बाली तथा बोटबिरुवाहरूले प्रयोग गर्न सकुन् भन्ने नै हुन्छ।अर्बुस्कुलर माइकोराइजल ढुसी भनेको एक विशेष किसिमको ढूसीको समूह हो जुन बोटविरुवाको जराहरूमा जोडिएर रहेको हुन्छ र यसले बोटविरुवाहरुलार्इ नाइट्रोजन सहित अन्य पोषणतत्व लिन सहयोग गर्दछ।यस्ता ढुसीले माटोबाट नाइट्रोजन लिर्इ बोटविरुवाहरुलार्इ उपलब्ध गराउने हुँदा नाइट्रोजनको चुहावटमा कमी आउँछ।त्यसैले माटोमा यस्ता ढुसीको उपस्थिति हुनुलार्इ नाइट्रोजन चुहावट कम भएको संकेतको रूपमा लिन सकिन्छ।

डिनाइट्रिफिकेसन (denitrification) को मात्रा पत्ता लगाउन वैज्ञानिकहरूले नाइट्रस अक्साइड (N2O) ग्याँसको मात्रा नापजाँच गरे। जहाँ फ्ल्याजेलेट्स (Flagellates – सूक्ष्मजीवहरू जसले आफ्नो शरीरको पुच्छर जस्तो संरचना (flagella) को माध्यमबाट माटोमा उपस्थित पानी वा अन्य तरल माध्यममा चलायमान हुन्छन् र ब्याक्टेरिया खान्छन्) को संख्या धेरै थियो त्यहाँ नाइट्रस अक्साइड ग्याँसको मात्रा कम थियो। डिनाइट्रिफिकेसन प्रकृया फ्ल्याजेलेट्सले नभर्इ एउटा विशेष समूहका ब्याक्टेरियाहरूले गर्दछन्।फ्ल्याजेलेट्सको संख्या ती क्षेत्रमा बढी देखिएको थियो जहाँ डिनाइट्रिफाइङ ब्याक्टेरिया कम थिए।त्यसैले फ्ल्याजेलेट्सको उपस्थितिलार्इ अरू प्रक्रियाहरू (डिनाइट्रिफिकेसन) र माटोका जीवहरू (डिनाइट्रिफाइङ ब्याक्टेरिया) का महत्वपूर्ण संकेतकको रूपमा प्रयोग गर्न सकिन्छ।कम मात्रामा डिनाइट्रिफाइङ ब्याक्टेरिया भएका माटोको खाद्य जालहरूमा के भइरहेको छ भन्ने कुराको जानकारी लिन महत्त्वपूर्ण छ किनभने जब नाइट्रोजन माटोबाट नाइट्रस अक्साइड ग्याँसको रूपमा बाहिर जान्छ यसले जलवायु परिवर्तनको असरलार्इ थप बढवा दिन्छ।नाइट्रस अक्साइड ग्याँस पनि हरितगृह ग्याँस हो, जुन कार्बनडाइअक्साइढ भन्दा 314 गुणा बढी शक्तिशाली हुन्छ

अत्यधिक भूमि प्रयोगको प्रभाव न्यूनिकरणका लागि जैविक विविधताको वृद्धि

तरकारी लगायतका अन्य कृषिबालीहरुको उत्पादन गर्नका लागि भूमि प्रयोगको “सही” अभ्यास कस्तो हुनुपर्दछ भन्ने प्रश्न एक निरन्तर वैज्ञानिक र सामाजिक बहसको विषय बन्दै आएको छ।सिँगो जगतलार्इ न्युनतम असर पुग्ने गरी अर्बौ मानिसका लागि आवश्यक स्वस्थ र पर्याप्त खाद्य उत्पादन कसरी गर्न सकिन्छ त? मानवद्धारा पर्यावरणमा हुने परिवर्तनप्रति जीवाणुहरू कति संवेदनशील छन् भन्ने विषयमा वैज्ञानिकहरू निरन्तर अध्ययन गरिरहेका छन्।कृषि अभ्यासहरूले जीवाणुहरूलाई मात्र नभर्इ तिनीहरूका प्रजातिहरूद्धारा स्थापित जटिल अन्तरक्रियात्मक प्रणालीलार्इ नै असर गर्दछ।यसरी अन्तरक्रियात्मक प्रणालीमा हुने परिवर्तनहरूले समग्र पर्यावरणीय प्रणालीको उर्जा प्रवाह, कुन पोषक तत्वहरू अडिने, कुन पोषक तत्वहरू चुहावट हुने, तथा कृषकहरुले कस्तो किसिमको र कति मात्राको मलखाद र विषादीहरूको प्रयोग गर्ने भन्ने कुरामा समेत असर गर्छ।सघन रुपमा गरिने भूमि प्रयोगमा कम भूमि क्षेत्र समेट्नु सकारात्मक पक्ष भएता पनि, यसले माटोको जैविक विविधतालाई घटाउँनुको साथै पोषकतत्व र कार्बनको मात्रामा ह्रास ल्याउँछ।ठीक विपरीत, कम सघन रुपमा गरिएको भूमि प्रयोगबाट कम उत्पादन लिन सकिन्छ तर यो वातावरणको समग्र पक्षका लागि राम्रो हुन्छ।त्यसैले उपयुक्त समाधान के हुन्छ भने सघन रुपमा भूमि प्रयोग भएका स्थानहरूमा माटोको जैविक विविधता पुनः स्थापना गरार्इ ती स्थानहरुलार्इ मलखाद र विषादीप्रति कम निर्भर गराउन सकिन्छ जुन वातावरणीय र मानवीय दुवै पक्षकालागि फाइदाजनक हुन्छ।यदि तपाईंहरु पनि कृषि अभ्यास गर्नुहुन्छ र भूमिको प्रयोग गर्नुहुन्छ भने सघन किसिमबाट भूमिको प्रयोग नगरेर वातावरण संरक्षणमा सहयोग पुर्याउन सहयोग गर्नुहोस्।यदि तपाईंले कृषि अभ्यास गर्नुहुन्न भने पनि कम सघन रुपमा भूमिको प्रयोग गरी उत्पादन गरिएका कृषि उपजहरुको उपभोग गरेर वातावरणको संरक्षणमा हातेमालो गर्न सक्नुहुन्छ।सबैको थोरै थोरै प्रयासले हामी हाम्रो पृथ्वीलाई अझ स्वस्थ बनाउन सक्छौं।

शब्दावली

माटोका जीवाणुहरू

जमिनको सतहभन्दा मुनि बस्ने सबै प्रकारका जीवहरुलार्इ माटोका जीवाणु भनिन्छ।यी जीवाणुहरुमा एक कोषीय जस्तै ब्याक्टेरिया तथा बहुकोषीय जीवाणुहरू जस्तै गड्यौला, प्रोटोजोआ, नेमाटोडहरू, र माइट्स पर्दछन्।

पर्यावरणीय सेवा

वातावरणले मानिसहरूको लागि प्रदान गर्ने महत्त्वपूर्ण सेवाहरु।माटोको पर्यावरणीय सेवाका उदाहरणहरूमा पोषकतत्वहरूको पुनःचक्रण, पानीको संरक्षण र निकासी, र प्राङ्गारिक पदार्थको मिश्रण आदि पर्दछन्।

माटोको खाद्य जाल

माटोका जीवाणुहरूबीच हुने आहार अन्तरकृयाहरूको जाल।यी अन्तरकृयाहरू तीन मुख्य श्रोतहरूबाट सुरू हुन्छन् (ब्याक्टेरिया, ढुसी, तथा जरा) जसले उर्जा च्यानलहरू निर्माण गर्दछ।

टिलिङ्ग

खनजोत गरी कृषि कार्यका लागि माटो तयार पार्ने प्रक्रिया।टिलिङ्गले झारपात घाँसलाई गाड्न मद्दत गर्छ र यसले बिरुवाको जराहरूलाई माटोमा प्रवेश गर्न सजिलो बनाउँछ।

भूमि प्रयोग

यसले प्राकृतिक रुपमा वातावरण कसरी व्यवस्थापन र परिमार्जन गरिन्छ भन्ने जनाउँछ।यस लेखमा चर्चा गरिएको उदाहरणहरूमा उच्च-सघन रुपमा भूमि प्रयोग, मध्यम-सघन रुपमा भूमि प्रयोग, र प्राकृतिक क्षेत्रहरू हुन् ।

ORIGINAL ARTICLE

de Vries, F. T., Thébault, E., Liiri, M., Birkhofer, K., Tsiafouli, M. A., Bjørnlund, L., et al. 2013. Soil food web properties explain ecosystem services across European land use systems. Proc. Natl. Acad. Sci. U.S.A. 110:14296–301. doi: 10.1073/pnas.1305198110

चित्र ३ - माटोको खाद्य जालले नाइट्रोजनलाई रूपान्तरण गर्दछ जसले गर्दा यो बिरुवा, पानी, वा हावामा प?? चित्र ३ - माटोको खाद्य जालले नाइट्रोजनलाई रूपान्तरण गर्दछ जसले गर्दा यो बिरुवा, पानी, वा हावामा प्रवाह हुन्छ।माटोका जीवाणुहरूको आहारको प्रक्रियाले गर्दा माटोमा रहेका प्राङ्गारिक पदार्थ (मृत बिरुवा र जनावर) हरु अप्राङ्गारिक नाइट्रोजनमा परिणत हुन्छन्।माटोमा रहेको यस्तो किसिमको अप्राङ्गारिक नाइट्रोजनलाई यात बोटबिरुवा र ढुसीले सोस्छ वा माटोबाट चुहावट भएर भूमिगत पानीमा मिल्दछ वा ब्याक्टेरियाले डिनाइट्रिफिकेशन प्रकृयाद्धारा नाइट्रस अक्साइड ग्याँसमा रूपान्तरण गर्दछ।

चित्र २ - प्राकृतिक वातावरणको प्रयोगका तीन सामान्य तरिकाहरू देखाइएको छ।अति कम सघन रुपमा भूमि प्?? चित्र २ - प्राकृतिक वातावरणको प्रयोगका तीन सामान्य तरिकाहरू देखाइएको छ।अति कम सघन रुपमा भूमि प्रयोग गर्दा धेरै खनजोत तथा अन्य कृषि अभ्यास गर्नु पर्दैन साथै धेरै मात्रामा मलखाद विषादीको प्रयोग गर्नु पर्दैन र यसले विविध पर्यावरणीय सेवाहरू उत्पादन गर्छ।मध्यम-सघन रुपमा प्रयोग गरिएको भूमिमा केही खनजोत तथा सामान्य कृषि अभ्यास आवश्यक हुन्छ र यसले मध्यम रुपमा उत्पादन दिन्छ।उच्च सघन रुपमा भूमि प्रयोग गर्दा धेरै खनजोत तथा तथा कृषि कार्य आवश्यक हुनुका साथै धेरै रासायनिक मलखाद तथा विषादीको प्रयोग गर्नुपर्छ जसले सानो क्षेत्रबाट धेरै उत्पादन दिन्छ।उच्च सघन रुपमा भूमि प्रयोग गर्दा बढी कृषि उत्पादन त हुन्छ तर पर्यावरणीय सेवाहरू कम हुन्छन्।

चित्र १ - माटोको खाद्य जालमा धेरै प्रकारका जीवाणुहरू पर्दछन्: (१) ब्याक्टेरिया,  (२) ढुसी , (३) अर्बुस् चित्र १ - माटोको खाद्य जालमा धेरै प्रकारका जीवाणुहरू पर्दछन्: (१) ब्याक्टेरिया, (२) ढुसी , (३) अर्बुस्कुलर माइक्रोरिजल ढुसी, (४) प्रोटोजोवा , (५) ब्याक्टेरिया खाने नेमाटोड, (६) ढुसी खाने नेमाटोड, (७) जरा खाने नेमाटोड, (८) कलेम्बोलान्स, (९) शिकारी नेमाटोड, र (१०) शिकारी माइट्स। चित्रमा जुन जीवाणुहरूले अर्को जुन जीवाणुहरूलार्इ खान्छन् त्यस तर्फ तिरहरु देखाइएका छन्।अन्तरक्रिया मार्गहरू तीन मुख्य उर्जा माध्यमहरु देखाइएको छः ब्याक्टेरियामा आधारित माध्यम (सुन्तला रङ्गका तिरमार्फत), ढुसीमा आधारित माध्यम (पहेँलो रङ्गका तिरमार्फत), र जरामा आधारित माध्यम (हरियो रङ्गका तिरमार्फत)।चित्रमा म्याग्निफाइङ्ग ग्लासले माटोको जीवाणुले खाना खाने र श्वास फेर्ने प्रकृयासँगै पोषकतत्व र उर्जाको प्रवाह हुने सन्देश दिन्छ।

REFERENCES

[1] de Vries, F. T., Thébault, E., Liiri, M., Birkhofer, K., Tsiafouli, M. A., Bjørnlund, L., et al. 2013. Soil food web properties explain ecosystem services across European land use systems. Proc. Natl. Acad. Sci. U.S.A. 110:14296–301. doi: 10.1073/pnas.1305198110

[2] Tsiafouli, M. A., Thébault, E., Sgardelis, S. P., de Ruiter, P. C., van der Putten, W. H., Birkhofer, K., et al. 2015. Intensive agriculture reduces soil biodiversity across Europe. Glob. Change Biol. 21:973–85. doi: 10.1111/gcb.12752

EDITOR: Malte Jochum, German Centre for Integrative Biodiversity Research (iDiv), Germany

अनुवादकहरू

डा. दिनेश पाण्डे

दिनेश पाण्डे कृषि प्रणालीमा कार्बन र नाइट्रोजन चक्रसम्बन्धी विषयका माटो वैज्ञानिक हुनुहुन्छ। ORCID

**मनिता थापा **

मनिता थापा वरिष्ठ कृषि विकास अधिकृत हुनुहुन्छ।

FUNDING (TRANSLATION)

The team Translating Soil Biodiversity acknowledges support of the German Centre for integrative Biodiversity Research (iDiv) Halle-Jena-Leipzig funded by the German Research Foundation (DFG FZT 118, 202548816).


Frontiers for Young Minds

Originally published on Frontiers for Young Minds