🌱 Soil4Kids
main

माटोका जीवहरू कस्तो देखिन्छन् भन्ने कुराले माटोमा तिनीहरूको भूमिका देखाउँछ

📅 2026-02-16 नेपाली

माटोका जीवहरू कस्तो देखिन्छन् भन्ने कुराले माटोमा तिनीहरूको भूमिका देखाउँछ

पीएर्र**गनल्ट/Pierre Ganault, लियाबिउमेल/Léa Beaumelle२**, एपोलाईन्अउक्लर्क/ Apolline Auclerc*

१ CEFE, Univ. Montpellier, CNRS, EPHE, IRD, Univ. Paul-Valéry Montpellier, France,२ Other, France३ Laboratoire des sols et Environnement, Université de Lorraine, France

हाम्रो ग्रहमा धेरै प्रकारका जीवित वस्तुहरू छन्। यो विशेष गरी हाम्रो खुट्टा मुनिको माटोमा छ । गँड्यौला, माकुरा र अरिमुठेहरु माटोका जीवहरूको विशाल संख्याका केही उदाहरणहरू मात्र हुन्। यदि तपाईंले माटोमा के बस्छन् भनेर हेर्नुभयो भने तपाईंले आकार र रंगहरूको ठूलो विविधता महसुस गर्नुहुन्छ। तर के हुन्छ होला यदि हामीले तिनीहरूका सबै विशेषताहरू: रंग, आकार, प्रकार, खुट्टाको संख्या, पखेटाको प्रकार, आयु र जलवायु प्राथमिकताहरू वर्णन गर्न समय लगायनौं भने? यी सबै गुणहरूलार्इ विशेषता भनिन्छ जसले एउटा निश्चित इकोसिस्टममा कुन प्रकारका जीवहरू फेला पार्न सकिन्छ, तिनीहरूले के खान्छन्, र तिनीहरू कति टाढा सम्म जान सक्छन् भनेर हामीलाई बुझ्न मद्दत गर्दछ। वैज्ञानिकहरूले यस जानकारीलाई माटोका जीवहरूको विभिन्न भूमिकाहरू बुझ्न र बिग्रिएको माटोलाई पुनर्स्थापित गर्न प्रयोग गर्छन्। यसो गर्दा, माटो जीवहरू कति महत्त्वपूर्ण हुन्छन् र तिनीहरूले मानव समाजको लागि किन आधारभूत भूमिकाहरू निभाउँछन् भन्ने पत्ता लाग्दछ।

माटो: एक अद्भुत तर कम ज्ञात भएको संसार

हाम्रो खुट्टा मुनिको माटोमा लाखौं जीवहरू बस्छन् [१]। यी जीवहरू सूक्ष्म (सूक्ष्मजीव भनिने) देखि हाडनभएको (इन्भर्टिब्रेट) एक मिटर भन्दा लामा जीवहरू (जस्तै गँड्यौला) सम्म फैलिएका छन्। माटोमा रहेका जीवहरूको विभिन्नतालाई माटोकोजैविकविविधता भनिन्छ। जैविक विविधता भन्नाले यस ग्रहमा रहेका सबै जीवित वस्तुहरूमा भएको विभिन्नता हो।

माटो****इकोलोजिस्टहरू माटोको जीवहरूको विविधता अध्ययन गर्ने वैज्ञानिकहरू हुन्। तिनीहरूले सामान्यतया उष्णप्रदेशीय वर्षाजन्य वन वा कृषिजन्य खेत जस्ता विभिन्न स्थानहरूमा बस्ने माटोजीवहरूको नमुना सङ्कलन गर्दछन्। तिनीहरूले जीवहरू माटोभित्र वा यसको सतहमा बस्छन् त्यसका आधारमा माटोको नमूना हटाउन सावेलहरू, पासोहरू वा कोररहरू प्रयोग गर्दछन् (चित्र १)। त्यसपछि, ती वैज्ञानिकहरूले आफुले देखेको नमुना जीवहरू आफ्नो हात वा चिमटीले समात्छन्। हाड नभएको (इन्भर्टेब्रेट्स) सबैभन्दा सानो माटोजीवलाई समाउन माटो इकोलोजिस्टहरूले प्राय: बर्लेस विधि भनिने प्रविधि प्रयोग गर्छन्। प्रयोगशालामा तिनीहरूले माटोको नमूनालाई सोलीमा राख्छन्, नमूना माटोको माथि तताउने बत्ती र यसको तल एउटा भाडो राख्दछन्। प्रकाश र तातोले स-साना जीवहरू तलतिर सोलीको माध्यमबाट भाडो भित्र पस्छन्। त्यसको केही दिनपछि वैज्ञानिकले भाडोमा रहेका जीवहरूको अध्ययन गर्न सक्छन्।

माटोका सबै जीवहरू जम्मा गरिसकेपछि लामो र सावधानीपूर्वक गर्नुपर्ने काम सुरु हुन्छ। माटो वैज्ञानिकहरूले प्रत्येक जीव गणना गर्दछन् र यो कुन प्रजातिसँग सम्बन्धित छ भनेर पहिचान गर्न नजिकबाट अवलोकन गर्दछन्। त्यसो गर्न, तिनीहरूले पहिचान कुञ्जीहरू र पुस्तकहरू सहित विभिन्न प्रकारका माइक्रोस्कोपहरू प्रयोग गर्छन्। एउटा विशेष इकोसिस्टममा पाइने प्रजातिहरूको कुल संख्याले त्यो इकोसिस्टमको जैविक विविधता प्रतिनिधित्व गर्छ। माटोको वैज्ञानिकहरूले गर्नुपर्ने काम धेरै छ किनभने माटो पृथ्वीको सबैभन्दा धेरै विविधता भएको र उच्च मानव-प्रभावित इकोसिस्टम मध्येमा पर्दछ । यसको अतिरिक्त, संसारमा धेरै माटो अहिलेसम्म अध्ययन गरिएकै छैन, त्यसैले धेरै प्रजातिका माटोका जीवहरूको अझै पत्ता लाग्न बाँकि छन् ।

माटोका जीवहरू अत्यन्त विविध हुन्छन्

माटोको जैविक विविधता यति धेरै छ कि सबै माटोका जीवका विशेषताहरू एकैचोटि वर्णन गर्न लगभग असम्भव छ। हामी तपाईंलाई माटोको जैविक विविधिताको एउटा अबधारणा दिनेछौँ ‒ राम्ररी अध्ययन भएका तीनवटा माटोका जीवहरू: गँड्यौला, स्प्रिङटेल र ग्राउण्ड बीटल(गोब्रे कीरा)हरुको स्वरूप र व्यवहार बारे वर्णन गरेर (चित्र २)।

शरीरको आकार

गँड्यौला, स्प्रिङटेल र ग्राउन्ड बीटलहरू बीचको र यी समूहहरू भित्रका प्रजातिहरू बीचको महत्त्वपूर्ण संरचनात्मक भिन्नता तिनीहरूको शरीरको आकार हो। आकार बनावट सम्बन्धि विशेषताको एक उदाहरण हो । सबैभन्दा सानो गँड्यौला केही सेन्टिमिटर लामो हुन्छ, जबकि उष्णप्रदेशीय वनहरूमा पाइने सबैभन्दा ठूलो २ मिटर सम्म लामो हुन सक्छ। युरोपमा, ग्राउण्ड बीटलहरू (गोब्रे कीराहरू) टाउकोको टुप्पोदेखि पेटको तल्लो खण्ड सम्मको लम्बाइ २ मीमी देखि ८ सेमीसम्म हुन्छन्। स्प्रिंगटेलहरू धेरै साना हुन्छन्, शरीरको औसत आकार केवल २ मिमी हुन्छन् तर तिनीहरूको आकार तिनीहरू कहाँ बस्छन् त्यस अनुसार फरक फरक हुन्छन् । मरेका पातहरूमा बस्ने केही स्प्रिङटेलका प्रजातिहरू माटोभित्र गहिराइमा बस्ने अन्य प्रजातिहरूभन्दा ठूला हुन्छन्।

गति

पर्याप्त खाना, प्रजनन गर्न सकिने अन्य जीवहरू भएको र उनीहरूलार्इ शिकार गर्ने जीवहरूको संख्या कम भएको बासस्थान पत्ता लगाउन माटोजीवहरूले माटोको सतह र माटो भित्र दुवै ठाउँमा हिडडुल गर्नका लागि धेरै थरिका प्रविधिहरूको विकास गरेका हुन्छन् । गँड्यौलाहरुका खुट्टा हुँदैनन्, तर केही प्रजातिका बलियो मांसपेशिहरु र साना रौँहरु हुन्छन् जुन माटोको कणभित्र दुलो बनाउनको लागि प्रयोग हुन्छन्। गोब्रे कीराहरू आफ्ना ६ खुट्टाले माटोको सतहमा कुदेर आफ्नो शिकार समाउन सक्छन्। धेरै प्रजातिका गोब्रे कीराहरूका पखेटा हुन्छन् जसलेगर्दा तिनीहरूलाई सिकारी वा अन्य गडबडीबाट छिट्टै उम्कन मद्धत पुग्छ , वा उनीहरूले थप शिकार वा साथीहरू फेला पार्न सक्ने ठाउँमा सर्न सक्छन्। स्प्रिंगटेलहरू पनि आफ्ना ६ खुट्टाहरुले हिड्डुल गर्न सक्दछन्, तर एउटा विशेष अतिरिक्त अङ्ग यिनको लागि वरदान सावित हुन्छ जसले गर्दा केहि स्प्रिंगटेलहरू धेरै सेन्टिमिटर माथिसम्म हावामा उफ्रन सक्दछन्, सिकारीहरूबाट बच्नको लागि !

रंग

माटोजीवहरू रंगीचंगी हुन सक्छन् । जमिनको केही सेन्टिमिटरमा तल कुहिएका पातहरूमा, वा कम्पोस्ट वा मलमा बस्ने केही गँड्यौलाहरू रातो-खैरो रङका हुन्छन्, जसले तिनीहरूलाई सुन्तला-खैरो रंग भएको सुकेका पातहरु जस्तै देखिन र सिकारीहरुलाई झुक्याउन सक्षम बनाउँछ अनि युभी (परावैजनी) किरणबाट पनि जोगाउँछ [२]। माटोको निकै गहिराइमा बस्ने अन्य गँड्यौलाहरू प्रायः फिक्का रङका हुन्छन्, जस्तै फिक्का गुलाबी, खैरो वा हरियो। गाडा रङको माटोभित्र पिग्मेन्टेशन (रङका कणहरू) को आवश्यकता पर्दैन किनभने यूभी (परावैजनी) किरण प्रवेश गर्दैन। अझै अन्य गँड्यौलाहरू प्रायः माटोभित्र बस्छन्, तर तिनीहरूले सुकेका पातहरू खान माटोबाट टाउको बाहिर निकाल्छन्, फलस्वरूप, तिनीहरूको टाउकोमा मात्र पिग्मेन्ट भएको हुन्छ। स्प्रिङटेलहरूले लगभग गँड्यौलाहरूको जस्तै रङको ढाँचाहरू देखाउँछन्: रङका पिग्मेन्ट भएका प्रजातिहरू माटोको माथिल्लो भागमा बस्दछन् र रंगविहीनहरू माटो भित्र बस्छन् [३]। अन्तमा, ग्राउन्ड बीटलहरू विशेष गरी काराबस प्रजातिकाको धेरै अद्भुत रङको ढाँचाहरू हुन्छन् । जीवन्त रंगहरूले तिनीहरूका सिकारी चराहरूलाई निरुत्साहित गर्न सक्छ अथवा तिनीहरूलाई वातावरण अनुसार झुक्याउन मद्दत गर्न सक्छ।

मुखका प्रकारहरू

हाम्रा तीन समूहहरू बीचको अर्को भिन्नता तिनीहरूको मुखको प्रकार हो। ग्राउन्ड बीटलहरूको बलियो मेन्डिबलहरू (चिउडो) हुन्छन् जुन उनीहरुले सबैभन्दा बढी के खान्छन् त्यसको आधारमा फरक आकार र साइजका हुन सक्छन् । उदाहरणको लागी, केहि प्रजातिहरुको चिउडो धेरै लामो र अगाडि निस्केको हुन्छ जसले गर्दा चिप्लेकिराको खोल भित्रसम्म पुग्न सक्छ। स्प्रिङटेलको सानो मुख हुन्छ जसले तिनीहरूलाई पातहरुमा मौलाएका ढुसी र पातका साना टुक्राहरु समेत खान मद्धत गर्दछ जसले मरेको पातहरुमा कंकालजस्तै सुन्दर ढाँचा बन्दछ । गँड्यौलाहरूसँग चिउडो हुँदैन, तर तिनीहरूको पेटको मांसपेशी बलियो हुन्छ र आफुले खाने माटो र पातहरू टुक्राउन पर्याप्त हुन्छन्।

माटो जीवका विशेषताहरू तिनीहरूको महत्त्वपूर्ण भूमिकाबारे बताउने संकेत हुन्

माटोका जीवका विशेषताहरूको सावधानीपूर्वक अवलोकन गर्दा यसले माटो इकोलोजिष्टहरूलाई ती जीवहरूले के खान्छन्, तिनीहरू कहाँ बस्छन्, र तिनीहरूले आफ्नो वातावरणसँग कसरी अन्तरक्रिया गर्छन् भन्ने बारे धेरै कुरा बताउन सक्छ (चित्र ३) । स्वस्थ माटो कायम राख्न माटोका जीवका कार्यहरू अत्यन्त महत्त्वपूर्ण हुन्छन्। यी जीवहरूले प्वालहरुहरू बनाएर, मरेका पातहरू टुक्याइ माटोमा पोषक तत्वहरू थपेर, र अन्य माटो जीवहरूको जनसंख्या नियन्त्रण गर्न मद्दत गरेर माटोको भौतिक संगठनलाई परिवर्तन गर्न सक्छन् [४]। उदाहरणका स्वरूप लिइएका हाम्रा तीन जीवहरुले खेलेको महत्त्वपूर्ण भूमिकाहरू हेरौं।

गँड्यौलाहरूले तीव्ररूपले माटो खन्ने (माटोमा प्वाल पार्ने) गतिविधिद्वारा माटोलाई स्वस्थ बनाई राख्न महत्त्वपूर्ण भूमिका खेल्छन्। माटोभित्र बस्ने गँड्यौला प्रजातिहरू माटोभित्र हिड्छन्- माटोमा मृत पातका टुक्राहरू मिसाउँदै र त्यहाँ ओरपर पाउने खानेकुरा खाँदै । तिनीहरू अगाडि सर्दा तिनीहरूले थेरै प्वालहरु सिर्जना गर्छन् जसबाट हावा र पानी सजिलैसँग बग्न सक्छ [५], यसले अन्य माटोको जीवहरूलाई पानी पिउन र सास फेर्न अनि बिरुवाको जरा बढ्न मद्दत पुग्छ। केही ठूला गँड्यौलाहरूले लामो, चौडा, ठाडो प्वालहरू सिर्जना गर्दछन् (धूवां जाने ढूड़्ग्रो चिम्नीहरू जस्तै)। अरूले मसिनो प्वालहरु बनाउँछन्, तर पनि यसले माटो मिश्रण गर्न बलियो योगदान दिन्छ। त्यसकारण गँड्यौलाहरू बाढी र पहिरो कम गर्न र माटोको स्वास्थ्य सुधार गर्न महत्त्वपूर्ण छन्।

स्प्रिङटेलहरुले पनि माटोमा महत्त्वपूर्ण भूमिका खेल्छन्, विशेष गरी मृत पातहरूबाट पोषक तत्वहरू पुन: प्रयोग गरेर, यसले बिरुवाको वृद्धिमा मद्दत गर्छ। केहि अवस्थामा, स्प्रिंगटेलहरू प्रति वर्ग मिटर छेत्रफल भित्र १0-१00,000 को जनघनत्व सम्म पुग्न सक्छन् ! तिनीहरूले ठूलो मात्रामा फोहोर पात र सूक्ष्मजीवहरू (जस्तै ढुसी र ब्याक्टेरिया) खान सक्दछन्। खाइसकेपछि, तिनीहरूले केही पानी मिसिएका मृत पातका साना टुक्राहरूबाट बनेको बडकौला बनाउँदछन्। यी बडकौलाहरू सूक्ष्मजीवहरूको लागि उत्तम भोजन हो, जसले मरेका पातहरूलार्इ पोषक तत्वहरूमा रूपान्तरण गर्न जारी राख्छ जसलाई बिरुवाहरूले पुन प्रयोग गर्न सक्छन्। स्प्रिंगटेल र सूक्ष्मजीवहरूद्वारा गरिएको यो पोषक तत्व पुनर्उत्पादन इकोसिस्टम र बिरुवाको वृद्धिको लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ।

ग्राउन्ड बीटलहरूको विविध आहार हुन्छन, तर यी शिकारी पनि हुन सक्दछन् , यसका साना एफिड्स (फूलको कीरा) देखि ठूला चिप्लेकिरासम्म धेरै किसिमका आहारहरु हुन्छन् । ग्राउन्ड बीटल प्रजातिहरूमा आफूले खाने आहारको शिकार गर्न विशेष खालको क्षमता हुन्छ; उदाहरणका लागि, साइक्रस क्याराबोइड प्रजातिले चिप्लेकिरा मात्र खान्छ। केही ग्राउन्ड बिटलहरुले स-साना स्प्रिङटेलहरू समात्छन्, तिनीहरूको राम्रोसँग विकसित आँखाको मद्दतले (चित्र ३)। ग्राउन्ड बीटलहरू अन्य जनावरहरूको जनसंख्या

नियमित गर्न महत्त्वपूर्ण हुन्छन्। उदाहरणको लागि, तिनीहरूले बालीमा लाग्ने अन्य कीराहरू खान्छन् नत्र ती कीराहरूले बाली बिरुवाहरूलाई क्षति पुर्याउँछन्। त्यसैले किसानहरूले बालीमा लाग्ने कीराहरू विरूध्द लड्न रसायनको सट्टा ग्राउण्ड बीटलहरू प्रयोग गर्न सक्छन् । यसलाई जैविक नियन्त्रण भनिन्छ किनभने यसले कीट नियन्त्रण गर्न जीवहरू बीचको प्राकृतिक शिकारी-शिकार अन्तरक्रियाको प्रयोग गर्दछ। इकोसिस्टममा ग्राउण्ड बीटलहरूको उच्च विविधता कायम राख्न महत्त्वपूर्ण छ किनभने सबै प्रजातिहरूले एउटै शिकार खादैनन्। ग्राउन्ड बीटलहरु विभिन्न साइजका शरीर भएका हुन्छन् तर तिनीहरुले प्रायः आफुभन्दा सानै शिकार खान्छन्। तसर्थ, ग्राउन्ड बीटल प्रजातिहरूको उच्च विविधताले कीटहरूको अझ राम्रो नियन्त्रण हुन्छ [ ६ ]।

माटो इकोलोजिस्टहरूका लागि सामान्यतया माटोमा हाड नभएका जीवहरु (इन्भर्टीब्रेट) र तिनीहरूको वातावरणबीचको सम्बन्धलाई राम्रोसँग बुझ्नको लागि तिनीहरुको शरीरको साइज, मुखको प्रकार र साइज, शिकार रणनीतिहरू र शिकारको प्रकार महत्त्वपूर्ण विशेषताहरू हुन्।

निष्कर्ष

माटोका जीवहरू आकार र व्यवहारमा अविश्वसनीय रूपमा विविध छन्। माटो इकोलोजिस्टहरू माटोको अद्भुत संसारको अन्वेषण गर्छन् र नयाँ प्रजाति र नयाँ विशेषताहरू पत्ता लगाउने मौका पाउछन्। माटोको इकोलोजिस्टहरुले भेटिएका प्रजातिहरूको विशेषताहरू हेरेर जीव र इकोसिस्टम बीचको अन्तरक्रिया अझ राम्रोसँग बुझ्न सक्छन्। माटो जीवहरूको विस्तृत विविधता र तिनीहरूले खेल्ने धेरै भूमिकाहरूलाई एकै साथमा मिलाएर हेर्दा माटोकोलाई स्वस्थ अवस्थामा कायम राख्न तिनीहरू एकअर्काका पूरक र आधारभूतरूपमा महत्वपूर्ण हुन्छन्। तसर्थ माटोको विविधतालाई कायम राख्नु र संरक्षण गर्नु हाम्रो लागि धेरै महत्त्वपूर्ण छ, त्यस माटोले मानव गतिविधिहरूको बढ्दो प्रभावहरूको सामना गरिरहेको छ जस्तै गहन कृषि र जलवायु परिवर्तन। माटोको जीवहरुको महत्व बारे जनचेतना जगाउनु र जैविक विविधताबारे हाम्रो ज्ञानमा सुधार गर्नुनै हाम्रो खुट्टा मुनिको विलक्षण इकोसिस्टममा हाम्रो प्रभाव घटाउनको लागि साँचो हुनेछ।

शब्दावली

माटोको जैविक विविधता**:**

माटोभित्रका विभिन्न स्वरूपका जीवहरूको विविधता। यसलार्इ यी जीवहरूको प्रजाति, लक्षण वा जीनको संख्याद्वारा मापन गर्न सकिन्छ।

माटो इकोलोजिस्ट:

एक वैज्ञानिक जसले माटोको जीवहरू, तिनीहरूको आफ्नो वातावरणसंगको अन्तरक्रिया र माटोको कार्यमा तिनीहरूको भूमिका बारे अनुसन्धान गर्छ।

वर्लिज विधि

कुहिएको पात र नमुना माटोलाई सुकाएर सानो आकार भएको जीवहरुलार्इ छुट्याउने र जीवहरु नमुना माटोबाट सरेर भाडोमा खसेपछि त्यहाँबाट तिनलार्इ सङ्कलन गर्ने एउटा विधि।

प्रजाति

एउटै प्रजातिका जीवहरू जसले उर्वर सन्तान उत्पादन गर्न सक्छन्। यो पृथ्वीमा जीवहरूको वर्णन गर्नको लागि सबैभन्दा धेरै प्रयोग हुने एकाई हो। सबै मानव जाति एउटै प्रजातिका हुन् तर माटोमा जीवहरूको धेरै, धेरै प्रजातिहरू छन्।

विशेषता

आकार, हिडाईको क्षमता, आहार, व्यवहार वा प्रजनन रणनीति वर्णन गर्नको लागि कुनै एउटा जीवमा नाप्न सकिने कुनै गुण।

युभी (परावैजनी) प्रकाश

सूर्यको किरणहरूको एउटा भाग जुन नाङ्गो आँखाबाट देखिँदैन र जसले छालालार्इ डढाउने काम (सनबर्न) गर्न सक्छ।

इन्भर्टीब्रेट

भित्री हाड नभएको सानो जनावर जस्तै किट, कीरा वा मोलस्क (शङ्खेकीराका प्रजाती)।

आभार

लेखकहरू TEBIS consortium (http://www.reseau-tebis.fr/) तथा Les petits debrouillards (https://www.lespetitsdebrouillards.org) र CARABES (https://assocarabes.com) जस्ता विभिन्न गैरसरकारी संस्थाहरूलाई धन्यवाद दिन्छन् जोसँग लेखकहरूको साथमा नागरिकको चेतना अभिबृध्दि तथा माटो र तिनीहरूको जैविक विविधताको संरक्षणका लागि उत्प्रेरित गर्ने कार्य गरिरहेका छन्। लेखकहरु विस्तृत रेखाचित्रको गुणस्तरको लागि Morgane Arietta Ganault लाई, नाम नखुलेका सल्लाहकारलार्इ र पाण्डुलिपि गुणस्तर सुधार गर्ने सुझावहरूको लागि युवा समीक्षकहरूलार्इ, अनि अंग्रेजी वाक्य रचना सहित पाण्डुलिपिको स्पष्टता सुधार गर्न उनको मद्दतका लागि सुसान देबदलाई पनि धन्यवाद दिन्छन्।

सन्दर्भहरू

१ Orgiazzi A, Bardgett R D, Barrios E, Behan-Pelletier V, Briones MJI, Chotte JL, De BeynGB, Eggleton P, Fierer N, Fraser T, et al. Global_soil diversity atlas. European Union. Luxembourg (2016). Available at http://esdac.jrc.ec.europa.eu/public_path/JRC_global_soilbio_atlas_online.pdf [Accessed April 28, 2020]

२ Bottinelli N, Hedde M, Jouquet P, Capowiez Y. An explicit definition of earthworm ecological categories – Marcel Bouché’s triangle revisited. Geoderma (2020) 372:114361. doi:10.1016/j.geoderma.2020.114361

३ Potapov AA, Semenina EE, Korotkevich AYu, Kuznetsova NA, Tiunov AV. Connecting taxonomy and ecology: Trophic niches of collembolans as related to taxonomic identity and life forms. Soil Biology and Biochemistry (2016) 101:20–31.doi:10.1016/j.soilbio.2016.07.002

४ Pey B, Nahmani J, Auclerc A, Capowiez Y, Cluzeau D, Cortet J, Decaëns T, Deharveng L, Dubs F, Joimel S, et al. Current use of and future needs for soil invertebrate functional traits in community ecology. Basic and Applied Ecology (2014) 15:194–206. doi:10.1016/j.baae.2014.03.007

५ Capowiez Y, Bottinelli N, Sammartino S, Michel E, Jouquet P. Morphological and functional characterisation of the burrow systems of six earthworm species (Lumbricidae). Biology and Fertility of Soils (2015) 51:869–877. doi:10.1007/s00374-015-1036-x

६ Rusch A, Birkhofer K, Bommarco R, Smith HG, Ekbom B. Predator body sizes and habitat preferences predict predation rates in an agroecosystem. Basic and Applied Ecology (2015) 16:250–259. doi:10.1016/j.baae.2015.02.003

अनुवादकहरू

डा सरिता पुडासैनी, डा प्रेमराज ढुंगेल र उज्ज्वल ढकाल

कोष

माटो बायोडाइभर्सिटी अनुवाद गर्ने टोलीले जर्मन अनुसन्धान प्रतिष्ठान (DFG FZT 118, 202548816) द्वारा वित्त पोषित एकीकृत जैव विविधता अनुसन्धान (iDiv) Halle-Jena-Leipzig को जर्मन केन्द्रको समर्थनलाई स्वीकार गर्दछ।


चित्र ३: माटोका जीवहरूको कर्म। (१) गँड्यौला मरेका पातहरू खाएर जीवित। (२) गँड्यौला आफ्नो ठुलो, गहिरो चित्र ३: माटोका जीवहरूको कर्म। (१) गँड्यौला मरेका पातहरू खाएर जीवित। (२) गँड्यौला आफ्नो ठुलो, गहिरो प्वालबाट माटोको सतहमा पुग्दै। (३) गँड्यौला माटोमा बस्दै र धेरै प्वालहरु खन्दै । (४) मरेका पातहरूलाई मलका बड्कुलाहरूमा रूपान्तरण गर्दै विभिन्न स्प्रिङटेलका प्रजातिहरू । (५) स्प्रिङटेल आफ्नो स्प्रिइंग-जस्तो हातखुट्टाले उफ्रीएर सिकारीबाट भाग्दै। (६) भुइँमा चिप्लेकिरा खादै ग्राउन्ण बीटल । (७) ग्राउन्ण बीटल उड्न तयार हुदै। (चित्रको श्रेय: www.lesbullesdemo.fr)

चित्र २: तीनवटा समूहहरू: गँड्यौला, ग्राउन्ड बीटल र स्प्रिङटेलहरुमा पर्ने हाड नभएका (इन्भर्टेब्र?? चित्र २: तीनवटा समूहहरू: गँड्यौला, ग्राउन्ड बीटल र स्प्रिङटेलहरुमा पर्ने हाड नभएका (इन्भर्टेब्रेटहरूको) माटोका जीवहरूको ९ प्रजातिहरू बीच रूपजन्य विशेषताका भिन्नताहरू । (चित्रको श्रेय : www.lesbullesdemo.fr)

चित्र १: माटोको हाड नभएको (इन्भर्टेब्रेट्स) को नमूना संकलन र अध्ययन गर्ने तरिकाहरू। साना जीवहरू म चित्र १: माटोको हाड नभएको (इन्भर्टेब्रेट्स) को नमूना संकलन र अध्ययन गर्ने तरिकाहरू। साना जीवहरू माटोलाई सुकाए पछि यसको सानो भित्री भागबाट निकालिन्छ र प्रत्येक नमुना माटोबाट झरेका जीवहरूलाई सङ्कलन गरिन्छ। ठुला र पातको फोहोरमा बस्ने र छिटो-छिटो चल्ने जीवहरू पिटफल जालहरूमा झर्दा जम्मा हुन्छन्। कम-चल्ने जीवहरू माटोको ब्लकबाट सावेलले निकालिन्छन् र त्यसपछि हातले क्रमबद्ध रुपमा छुट्टाइन्छ। माटोभित्र गहिराइमा बस्ने गँड्यौलालाई उनीहरुले पारेको प्वालमा तोरीपानीको घोल खन्याएर निकालिन्छ । पातको फोहोरमा बस्ने कम-चल्ने जीवहरूलाई बर्लेस उपकरण प्रयोग गरेर एक्ल्याइन्छ जसले फोहोर सुकाउँछ र जीवहरू जालमा परि संकलन भाँडोमा खस्दछन् । (चित्रको श्रेय: www.lesbullesdemo.fr। तस्बिरको श्रेय : Apolline Auclerc, EcoBioDiv प्रयोगशाला)

Frontiers for Young Minds

Originally published on Frontiers for Young Minds